नेपाली कांग्रेसकी अमरगढी नगरसचिव देवकी भट्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा गरेकी छन्।
लामो समयदेखि पार्टीमा आबद्ध रहँदै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी उनले आज सामाजिक सञ्जाल मार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्।
उनले पारिवारिक विरासत र बाल्यकालदेखिको प्रजातान्त्रिक सोचका कारण नेपाली कांग्रेससँग जोडिएको उल्लेख गर्दै पार्टीको ऐतिहासिक योगदानप्रति गर्व व्यक्त गरेकी छन्।
राणा शासनविरुद्धको संघर्ष, प्रजातन्त्र प्राप्ति तथा देशका विभिन्न राजनीतिक परिवर्तनमा पार्टीले खेलेको भूमिकालाई स्मरण गर्दै उनले बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, किशुनजी लगायत अग्रज नेताहरूको त्याग, समर्पण र निष्ठाबाट प्रभावित भएर राजनीतिमा लागेको बताएकी छन्।
तर वर्तमान अवस्थामा पार्टीभित्र इमान्दार, लगनशील र योग्य कार्यकर्ताको उचित मूल्याङ्कन नहुने, चाकरी, चाप्लुसी, नातावाद र कृपावाद हावी हुँदै गएको आरोप उनले लगाएकी छन् ।
यस्तो परिवेशमा पार्टी रूपान्तरण लगभग असम्भव देखिएको उनको भनाइ छ। सुदूरपश्चिमका अग्रज नेता तथा पार्टीका धरोहर व्यक्तित्व शेर बहादुर देउवाप्रति गरिएको व्यवहारले आफूलाई थप मर्माहत बनाएको उनले उल्लेख गरेकी छन्।
सबैलाई समेटेर जनताको आकांक्षा अनुसार पार्टी अघि बढ्नुपर्ने आवश्यकतालाई बेवास्ता गरिएकोप्रति पनि उनले असन्तोष व्यक्त गरेकी छन्।
पार्टीमा रहँदा सहयोग गर्ने सम्पूर्ण साथीहरू, अग्रज नेतागण तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उनले सामाजिक र राजनीतिक क्षेत्रमा आफ्नो सक्रियता भने निरन्तर रहने प्रतिबद्धता जनाएकी छन्।
उनको राजीनामा आजैका मितिबाट लागू हुने जनाइएको छ। चुनावको मुखैमा उनले राजीनामा दिएपछि कांग्रेसलाई ठूलो झट्का लागेको छ।
नेपाली कांग्रेस डडेल्धुराबाट नैनसिंह महर उम्मेदवार छन्।





