बाँके — कोहलपुरमा जेठ १ गतेदेखि प्रथम प्रदेश सभा कप अन्तर्गत ‘बाँके क्षेत्र नं. १ ‘ख’ अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ। सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा र नेपाल शिक्षक महासङ्घ कोहलपुर तथा राप्तीसोनारीको व्यवस्थापनमा जेठ १ देखि ७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो।

सामाजिक विकास डिभिजन कार्यालयका उपसचिव ऋषिराज शर्माले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिए। प्रतियोगिता कृष्ण माध्यमिक विद्यालय कौशिलानगर र गोर्खा युनाइटेड पब्लिक स्कुलको खेल मैदानमा आयोजना हुनेछ।

आयोजक समितिका अनुसार प्रथम हुने टोलीले पाँच लाख, द्वितीयले तीन लाख र तृतीयले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। हालसम्म प्रतियोगितामा सहभागिताका लागि ३६ विद्यालयले नाम दर्ता गराइसकेका छन्।

प्रतियोगिताको उद्घाटन तथा समापन लुम्बिनी प्रदेश सभा सदस्य माननीय दुर्गा चौधरीले जेठ १ गते दिउँसो ३ बजे कृष्ण माध्यमिक विद्यालय कौशिलानगरमा गर्ने नेपाल शिक्षक महासङ्घ कोहलपुरले जनाएको छ।

प्रतियोगितामा १३ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन्। आयोजक समितिका अनुसार प्रतियोगीहरूको सुरक्षार्थ प्रतियोगिता अवधिभर प्रतिब्यक्ति एक लाख रुपियाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here