कैलालीमा वन अतिक्रम हटाउने क्रममा टेम्पो भिरबाट खसालेको भिडियो भाइरल भएको छ ।

गोदावरी नगरपालिका– ४ बासपानीकी धनादेवी धामीको टेम्पो भिरबाट खसालिएको हो ।उनका अनुसार डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको टेम्पोबाट सामान झारेर भिरमा खसालिदिए । ‘गाडी घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्न चाहेन,’ धामीले भनिन् ।

वन कार्यालयले भने अतिक्रमण खाली गर्दा टेम्पो पनि हटाइएको जनाएको छ । सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराले उक्त टेम्पो एक महिनाअघि पनि हटाइएको बताए ।‘चल्ने अवस्थाको टेम्पो होइन,’ उनले भने, ‘कवाड भइसकेको टेम्पोलाई खोकाको रूपमा प्रयोग गरेर पसल चलाइएको थियो । एक महिनाअगाडि पनि हटाएका थियौँ । फेरि वन अतिक्रमण गरी राखिएपछि हटाएका हौँ ।’

यता, धामीले भने मजदुरी गरेर खरिद गरिएको टेम्पो भिरबाट खसालिएको बताइन् । ‘मैले गाडीको कर पनि तिरिरहेकी छु,’ उनले भनिन्, ‘प्रत्येक दिन साँझ गाडी चलाएरै घर लैजाने गरेका थियौँ । बिहान पनि चलाएरै आउँथ्यौँ ।’बोहराले भने अतिक्रमण हटाउने अभियानअन्तर्गत ४७ वटा संरचना हटाइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here