सर्जन कुमार शाही , मुगु
मुगु, असार ५ – सोरु गाउँपालिकाका विभिन्न बस्तीमा रहेका पानीका मुहान सुक्न थालेपछि स्थानीयवासीहरु गम्भीर खानेपानी संकटको सामना गरिरहेका छन् । लामो समयदेखि पर्याप्त वर्षा नहुनु, जलवायु परिवर्तनको प्रभाव तथा पानीका स्रोतहरूको संरक्षणमा कमी आउनुले धेरै मुहानहरू सुक्दै गएका हाे ।

सोरु गाउँपालिका वडा नं. १, २, ३, ४ का सम्पुर्ण वस्ती पुर्ण संकटमा छन् भने वडा नं . ५ देखि ११ सम्मका केहि वस्तीहरुमा पानीको अभाव निम्तिएको छ । विभिन्न क्षेत्रमा रहेका बस्तीका स्थानीयहरू दैनिक उपभोगका लागि समेत पानी जुटाउन घण्टौं हिँड्न बाध्य छन्। कतिपय परिवारले टाढाका खोल्सा तथा बाँकी रहेका साना स्रोतहरूबाट पानी ल्याएर गुजारा चलाइरहेका छन्। पानीको अभावले सरसफाइमा समस्या उत्पन्न भएको छ भने पशुपालन र कृषि कार्यसमेत प्रभावित बनेको स्थानीयहरूको गुनासो छ ।
सोरु गाउँपालिकाकै सबै भन्दा उच्च पानीको जोखिम रहेको वडा नम्बर ३ को भिई गाउँ हाे जहाँ गाउँ नजिक रहेको सानो पानीको मुहान सुकेकोले स्थानीयहरु तिरतिरे पानीको धारामा रातभरि जागराम बसेर थोरै पानी थापेर पनि दैनिक गुजारा चलाउने गरेको छन् । वडा अध्यक्ष सिँह राज धामीका अनुसार पानीका सबै मुहान सुकिसकेका कारण स्थानीयहरुलाई धेरै सास्ती भएको छ ।
पसुचौपाय सबै कर्णाली नदिको किनारमा धपाइएको छ स्थानीयहरु तिरतिरे पानी थापेर खाना पकाउनको मात्र काम चलेको छ । खडेेरि परे संगै पानीका मुहानहरु सुकेका हुन् । गाउँको नजिक कुनै मुहान छैनन् १० किलो मिटर टाढा एउटा मुहान छ अहिले गैरसरकारी संस्था आई . एन . एफ . ले गाउँपालिकासंग साझेदार गरेर ७० लाख बराबरको परियोजना स्वीकृत पछि काम अगाडि बढीहरेको छ । तर पानीको स्रोत कम र भौगोलिक रुपमा भिरालो ठाँउ भएकोको कारण दीर्घकालीन रुपमा पानीको समस्या समाधान हुन सम्भावना न्युन देखिन्छ ।
यहाँको पानीको समस्या समाधान गर्न हुम्ला कर्णाली नदि किनारदेखि लिफ्टिङ्ग गर्न सके मात्र समस्या समाधान हुने देखीन्छ यो काम स्थानीय सरकारबाट असम्भव छ जहाँ गाउँपालिकाको सिंगो ५ वर्षको बजेटले पनि असम्भव छ सिंगो नेपाल सरकारले यहाँको समस्यालाई समाधान गर्न ध्यान दिनु पर्नेमा जोड दिए ।
स्थानीयवासीहरुका अनुसार विगत केही वर्षयता पानीका स्रोतहरू क्रमशः घट्दै गएका छन्। यस वर्ष धेरै मुहान पूर्ण रूपमा सुकेपछि समस्या झन् जटिल बनेको हो। खानेपानीको अभावले विद्यालय, स्वास्थ्य संस्था तथा दैनिक जनजीवनमा सवालमा समेत प्रत्यक्ष असर परेको छ।
सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीका अनुसार खानेपानी समस्या समाधान गर्न आवश्यक योजना तयार गरिएको भए पनि तत्काल कार्यान्वयनका लागि पर्याप्त बजेट अभाव रहेको बताएका छन्। गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग आवश्यक बजेट तथा प्राविधिक सहयोगको माग गर्ने तयारी गरेको जनाएको छ साथै अर्को विकल्प भिई , समलधारा , गहताडि , धुपी , र सोरुकाे वरपरका बस्तीहरुमा सोरुकोट बृहत् खानेपानी सफल हुने बित्तिकै यहाँको खाने पानी समस्या समाधान हुने बताए ।
धेरै गाउँ बस्तीहरुमा स्थानीय सरकारले विभिन्न गैरसरकारी संस्थाहरुसंग साझेदार गरेर एक घर एक धारा निर्माण गरे ता पनि पानीका मुहान सुकेको कारण पानी बिनाका धारामात्र स्थापित भएको देखिन्छन् ।
स्थानीयहरूले भने दीर्घकालीन रूपमा पानीका मुहान संरक्षण, वर्षाको पानी संकलन तथा वैकल्पिक खानेपानी योजनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । समयमै प्रभावकारी कदम नचालिए खानेपानी संकट अझ गम्भीर बन्न सक्ने स्थानीयहरको चिन्ता छ ।
खानेपानी जस्तो आधारभूत आवश्यकताबाट वञ्चित हुन थालेपछि सोरु गाउँपालिकाका प्रभावित बस्तीका बासिन्दाले तत्काल राहत र दीर्घकालीन समाधानको अपेक्षा गरेका छन् ।





