सर्जन कुमार शाही – मुगु
काठमाडौंमा आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका गणेश नेपालीको जीवन गरिबी, अभाव र निरन्तर संघर्षले भरिएको थियो। उनको निधनले एउटा परिवारमाथि बज्रपात मात्र गरेको छैन, कर्णालीका विपन्न परिवारहरूले वर्षौंदेखि भोग्दै आएको कठोर यथार्थलाई पनि उजागर गरेको छ।
गणेश नेपालीको घर मुगुको सोरु गाउँपालिका–१ जवलधारामा भए पनि परिवारसँग दुई छाक खान पुग्ने खेतीयोग्य जमिन थिएन। यही अभावका कारण उनका आमा–बुबा वर्षौँअघि कर्णाली नदी पार गरेर हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–२ स्थित मकै गाउँमा बसाइँ सरे। त्यहाँ उनीहरूले अरूको जग्गा अधियाँमा लिएर खेती गर्दै जीविकोपार्जन गर्न थाले।
सोरु गाउँपालिका–१ का वडा अध्यक्ष धनकर्ण छत्यालका अनुसार परिवारसँग पर्याप्त जमिन नभएकाले उनीहरू हुम्लाको मकै गाउँमा बस्दै आएका थिए। अहिले पनि गणेशका वृद्ध आमा–बुबा त्यही गाउँमा अरूको जग्गा अधियाँ गरी जीवन धानिरहेका छन्।
गणेश घरका कान्छा छोरा थिए। उनी बेला–बेलामा मात्र मुगुको घर आउने गर्थे। रोजगारी र भविष्यको खोजीमा उनका दाजु, श्रीमती तथा छोरा–छोरी काठमाडौंमा बस्दै आएका थिए। यसरी एउटै परिवार गरिबीका कारण तीन फरक ठाउँमा विभाजित भएको थियो—घर मुगुमा, आमा–बुबा हुम्लामा र श्रीमती–छोराछोरी काठमाडौंमा।
यसैबीच काठमाडौंमा भएको आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा निधन भयो। उनको मृत्युसँग सम्बन्धित घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।
गणेशको निधनपछि हुम्लाको मकै गाउँमा रहेका उनका वृद्ध आमा–बुबामाथि पीडाको अर्को पहाड थपिएको छ। बुढेसकालमा अरूको जग्गा जोतेर जीवन धानिरहेका उनीहरूले अब आफ्ना कान्छा छोरालाई सधैंका लागि गुमाएका छन्।
गणेश नेपालीको कथा केवल एक व्यक्तिको जीवन र मृत्युको कथा होइन। यो कर्णालीका ती सयौँ विपन्न परिवारहरूको प्रतिनिधि कथा हो, जसले आफ्नै गाउँमा बाँच्ने आधार नपाएपछि नदी पार गरेर अरूको जग्गामा पसिना बगाउन बाध्य भएका छन्। गरिबीले उनीहरूको घर छुटायो, परिवार छुटायो, र अन्ततः एउटा परिवारले आफ्नो प्रिय सदस्यसमेत गुमाउनुपरेको पीडा भोग्नुपर्यो ।





