सर्जन कुमार शाही
मुगु — मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लामा हाइलक्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
आइतबार साँझ करिब ४ः४५ बजे सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी ताल्चा–रारा कच्ची सडकखण्डअन्तर्गत टोप्लामा अचानक सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रबीराज थपलियाको कमाण्डमा १० जना र ताल्चास्थित प्रहरी सुरक्षा गार्डबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको कमाण्डमा ७ जना गरी १७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले दुर्घटनामा घाइते भएका सबै पाँच जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पठाएको जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही स्थानकी ५४ वर्षीया अन्जु थापा रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, काठमाडौंको कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा घाइते भएका छन्। उनीहरू तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा हाइलक्समा पाँच जना सवार थिए। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। चालकले मादक पदार्थ सेवन गरे/नगरेको सम्बन्धमा समेत यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय मुगुबाट करिब ११ किलोमिटर दक्षिण–पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here