ब्रेक फेल हुँदा बाजुरामा पवनदूतको बस दुर्घटना, २४ यात्रु घाइते।बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार ब्रेक फेल भएपछि बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। बसमा ३५ जना सवार रहेको बताइएको छ।
घाइतेमध्ये २३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल रिफर गरिएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले दुर्घटनाको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।





