काठमाडौँ। वर्ल्ड च्यालेन्ज नेपाल (चर्च मोबिलाइजेसन) ले नुवाकोटका बाढीप्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भई नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ स्थित जुगेटार र अङ्गुलटारमा रहेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका २२० भन्दा बढी परिवारलाई उक्त राहत उपलब्ध गराइएको हो।

वर्ल्ड च्यालेन्ज नेपालका संयोजक सिमसोन तामाङका अनुसार प्रभावित परिवारहरूका लागि चामल ११० बोरा, पी–फर्म ११० थान, त्रिपाल ७० थान, प्रेसर कुकर ११० थान, ग्यास चुलो  ११० थान, साबुन ११० थान, मञ्जन–ब्रस ११० थान, चाउचाउ ५५० प्याकेट, दाल ११० प्याकेट, नुन ११० प्याकेट, तेल ११० लिटर, मस्यौरा ११० प्याकेट, बिस्कुट ११० प्याकेट र ११० थान बल्याङकेट वितरण गरिएको छ।

संस्थाले विशेष गरी अनाथ, एकल महिला, विपद्‌बाट प्रभावित व्यक्तिहरूलाई सहयोग गर्नुका साथै सामाजिक र मानवीय क्षेत्रमा काम गर्दै आएको छ। बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दै संयोजक तामाङले भने, “तत्कालका लागि प्रभावितहरूलाई सानो सहयोगस्वरूप राहत वितरण गरेका छौँ, आगामी दिनहरूमा पनि विपद्‌मा परेका मानिसहरूलाई सहयोग जारी राख्नेछौँ।”

राज्यको उपस्थिति सुस्त रहेको समयमा राहत पाएपछि प्रभावित स्थानीयवासीहरूले संस्थाप्रति आभार व्यक्त गरेका छन्।

यस्तै, विदुर नगरपालिका–९ का कार्यवाहक वडाध्यक्ष राजेन्द्र श्रेष्ठले विपद्‌को १२ दिन बितिसक्दा पनि सरकारको तर्फबाट राहतका लागि कुनै ठोस पहल नभएकोमा गुनासो व्यक्त गरे। राज्यभन्दा अगाडि बढेर बाढीपीडितको मर्म बुझी सहयोग पुर्‍याएको भन्दै उनले वर्ल्ड च्यालेन्ज नेपाल प्रति कदर व्यक्त गरे।

राहत वितरण गरिएको सामुहिक फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here