दशैंसँग जाडिएका नेताहरूको अनुभव सुन्नु थियो। यहीक्रममा हामी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास पुग्यौं। हामीलाई दिउँसो २ बजेको समय दिइएको थियो। हामी त्यहाँ पुग्दा १ बजेर ५३ मिनेट गएको थियो।
भर्खरै खाना खाएर आराम गरिरहेका रहेछन् उनी। केही समयको प्रतिक्षापछि उनी बैठक कोठामा झुल्किए। राजनीतिक व्यस्ततामा रहेका उनी हामीसँगको कुराकानी लगत्तै बैठकमा निस्किन खोजिरहेका थिए। औपचारिक पोसाकमै देखिए, जसरी बाहिर औपचारिक कार्यक्रममा देखिन्छन्।
केही समयको अनौपचारिक कुराकानीपछि सुरु भयो उनको दशैं अनुभव। दशैंसँग जोडिएका झन्डै ७० अनुभव छन्। तीमध्ये उनले जेलजीवनको दशैं अनुभव छाने हामीलाई सुनाउन। अझ भनौं, जेलमा बस्दा मनाएको दशैं अनुभव उनको स्मृतिमा नाचिरहन्छ। विभिन्न समय गरी १३ वर्ष जेलजीवन बिताएका पौडेलले नख्खु जेलमा धेरैपल्ट दशैं मनाएका छन्।
‘नख्खु जेलमा त तीन वर्ष किसुनजी (कृष्णप्रसाद भट्टराई) कै हातबाट टिका लगाइयो। टिका लगाउँदा किसुनजीले उच्च स्वरमा संस्कृतका श्लोक पाठन गर्दै आशीर्वाद दिनुहुन्थ्यो। नख्खु जेलको दशैं त्यही रमाइलो थियो। त्यहाँ बसाइँ अलि लामो भयो। त्यहाँ अन्य साहित्यिक कार्यक्रम र प्रवचन पनि भयो,’ नेता पौडेल सम्झन्छन्, ‘रामहरि जोशी, रामराजप्रसाद सिंह, भीमबहादुर तामाङलगायत सिनियर नेता पनि त्यही हुनुहुन्थ्यो। उहाँहरुको पनि एक किसिमको अभिभावकीय भूमिका हुन्थ्यो। गिरिजाबाबुसँग पनि एक वर्षसँगै जेलमा दशैं मनायौं।’
जेलमा अरु दिन भन्दा दशैंमा अलि फरक र मीठो परिकार पाक्थ्यो। त्यसैले त्यो दिन साँच्चिकै दशैं लाग्थ्यो पौडेललाई। जेलभित्रका दशैंमध्ये पनि गाेर्खा जेलको दशैं त बिर्सनै नसकिने गरी उनको मन मष्तिष्कमा डेरा जमाएर बसेको छ। जब दशैं आउँछ, गोर्खाको जेलभित्र मनाएको दशैं अहिले पनि पुनःताजकीकरण भइदिन्छ, पौडेललाई।
गोर्खाको जेलमा धेरै दशैं मनाउन पाएनन् उनले। एउटा दशैं त्यहीं परेको थियो। गोर्खाकै साथीहरुका परिवार र त्यहाँका महिला दिदीबहिनीहरु समूहमै जेलमा खानेकुरा ल्याएर आएको भर्खरै जस्तो लाग्छ। तिहारमा पनि टिका लगाइदिन आउँथे। गोर्खामा साथीहरुका आफन्त र त्यहाँका बासिन्दाले चाडपर्वमा नरमाइलो हुन दिएनन्। उनीहरुको मायाले दशैंलाई दशैं जस्तै बनाएको पौडेलको अनुभव छ।
पोखरालगायत केही ठाउँका जेलमा भने दशैं ठिकै मनाइन्थ्यो। भद्रगोल जेलमा रहँदाको दशैं पनि त्यति स्मरणीय छैन। तर, केन्द्रीय कारागारमा मनाएको दशैं भने पौडेल कहिल्यै बिर्सन सक्दैनन्। किनभने उनले राँगाको मासुबाट बनेका ३२ परिकार चाखेकै केन्द्रीय कारागारको जेलमै थियो।





