नितान्त आफ्नो प्रतिभा र मेहनतको बलमा कलिलै उमेरमा राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए सन्दीपले । नामसँगै दाम पनि यथेष्ट कमाइरहेका थिए । तर, मान्छेका दुर्दिन कतिबेला सुरु हुन्छन्, कसले पूर्वानुमान लगाउन सक्छ र ? एकैपटक धरहराको उचाइबाट खसेर भूईंमा पछारिएका छन् सन्दीप । जक (जबरजस्ती करणी)को आरोपमा जाहेरी परेसँगै उनको रुमानी यात्रामा ब्रेकमात्र लागेको छैन, अहिलेसम्म कमाएको नाम र प्रतिष्ठामा डढेलो लागेको छ । धूलो टक्टकाउँदै उठेर फेरि पुरानो लय समात्न त्यति सजिलो देखिँदैन ।
दोषी सावित भए सन्दीपले कानूनबमोजिम सजायको हकदार हुनुपर्छ नै । तर, अदालतले सफाइ दियो भने अहिले भएको बदनामी र चरित्रहत्याको क्षतिपूर्ति कसरी हुन्छ ? भड्खालोमा परेको उनको खेल करिअरलाई कसले बाहिर निकाल्छ ? उनले र परिवारले खेपेको प्रताडनको मूल्य कसले चुक्ता गर्छ ? प्रश्नहरु अनुत्तरित छन् ।
सन्दीपमाथि लागेको मुद्दामा प्रहरी अनुसन्धान जारी छ । अन्तिम न्याय निरुपण गर्ने भनेको अदालतले हो । तर, सञ्चारमाध्यमले जाहेरीकर्ताको एंगलबाट निरन्तर एकपक्षीय समाचार सम्प्रेषण गर्दा न्याय दिने निकायहरुलाई अनावश्यक दबाब पर्छ नै । आरोप प्रमाणित नभएसम्म कसैलाई पनि दोषीका रुपमा नहेर्नु र दुवै पक्षको भनाइलाई स्थान दिनु सञ्चारमाध्यमको धर्म हो । त्यही धर्म निर्वाह गर्दै हामीले यस घटनासँग जोडिएका सबै पक्षसँग खोजीनीति गरी केही नयाँ तथ्यहरु फेला पारेका छौं । यो प्रकरण कसरी सुरु भयो, सन्दीपकी फ्यान गर्ल कसरी उनीविरुद्ध जाहेरी दिने अवस्थामा पुगिन् र यसमा प्रहरी-अदालतले ध्यान पुर्याउनुपर्ने विषयवस्तुहरु के-के छन् भन्नेबारे यहाँ विस्तृत चर्चा गरिनेछ ।
गत चैतमा काठमाडौंमा सम्पन्न ट्राइ नेसन्स सिरिजमा नेपाली युवा ब्याट्सम्यामा देव खनालले पपुवा न्यूगिनीविरुद्ध ७२ रनको आकर्षक पारी खेले । आफूले खेलेको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय म्याचमै अर्धशतक बनाएपछि उनी क्रिकेट पारखीहरुको आँखामा परिहाले । उनलाई आएका धेरै फ्रेन्ड रिक्वेस्टमध्येको एक थियो जुनेली (नाम परिवर्तन) को ।
देवले फ्रेन्ड रिक्वेस्ट स्वीकारेसँगै उनीहरुबीच सामान्य कुराकानी हुन थाल्यो । एक दिन देवले होटलकै कोठाभित्र आफ्ना कप्तान सन्दीप लामिछानेसँग खिचेको सेल्फी जुनेलीलाई पठाए । एक-डेढ वर्षदेखि नेपाली क्रिकेटलाई मज्जाले पछ्याउन थालेकी जुनेली ‘एक्साइटेड’ भइन् र सन्दीपलाई पनि साथी बनाउन चाहिन् ।
देवको ‘रिकमेन्डेसन’ मा सन्दीपले जुनेलीलाई ‘स्न्याप च्याट’मा जोडे । उनीहरुबीच सामान्य कुराकानी र तस्वीर आदानप्रदान हुन थाल्यो । सन्दीपले पठाएको आफ्नो एउटा तस्वीरमा ‘मायाको सौगातस्वरुप’ लेखेर लभ इमोजीसमेत राखेका थिए । जुनेली सन्दीपसँगको कुराकानीमा लठ्ठ पर्दै गइन् । केही दिनको कुराकानीपछि सन्दीपले टेक्स्ट गरे- ‘स्न्यापच्याटमा स्न्यापमात्रै पठाइरहने कि हाम्रो भेटघाट पनि हुन्छ ?’ जुनेलीलाई पनि कम्ति थिएन । भन्न पो सकिरहेकी थिइनन् । उनी कफी डेटका लागि तुरुन्तै राजी भइन् ।
भोलिपल्ट सन्दीपले अर्का क्रिकेटर साथीको मोबाइलबाट जुनेलीलाई कल गरे । उनी कलेजमा थिइन् । मिड बानेश्वरमा भेट्ने सल्लाह भयो । तोकिएको समयमा सन्दीप मिड बानेश्वरमा एपेक्स कलेज नजिक रहेको एउटा रेस्टुरेन्टमा पुगे । त्यहाँ कफी खाएपछि उनीहरु नगरकोटतिर लागे ।
‘पीडित’ को जाहेरीका आधारमा अहिलेसम्म मिडियामा आइसकेका कुराहरु हुन् यी । पीडितले आफूलाई सन्दीपले झुक्याएर नगरकोट पुर्याएको दाबी गरेकी छन् भने सन्दीपले चाहिँ जाहेरीकर्ताले कर गरेपछि आफूहरु घुम्न नगरकोट गएको जिकिर गरेका छन् । तर, प्रहरी स्रोतका अनुसार उनीहरु आपसी सल्लाह र सहमतिमै घुम्न गएका हुन् । प्रस्ताव चाहिँ सन्दीपको थियो ।
सन्दीपले नगरकोट नजिकै सुडालमा रहेको बोजिनी रिसोर्टमा गाडी रोके । रिसोर्ट स्रोतका अनुसार सन्दीप पहिले पनि यहाँ आएर खाने–बस्ने गर्थे । रिसोर्र्टमा सन्दीप र जुनेली ‘रोमान्टिक कपल’ का रुपमा प्रस्तुत भएको पनि स्रोत बताउँछ । उनीहरुले खाजा सेट मगाएर एउटै प्लेटमा खाएका थिए पालैपालो एकअर्कालाई ख्वाइदिएका पनि थिए ।
खानपिनपछि रिसोर्टबाट निस्किए र काठमाडौंतिर फर्किए ।
काठमाडौं आइपुग्दा राति भइसकेको थियो । जुनेलीले आफ्नो होस्टल यतिबेला बन्द भइसकेको बताइन् । त्यसपछि सन्दीपले होटलमा सँगै बस्ने प्रस्ताव गरे । जुनेली सहमत भइसकेपछि सन्दीपले होटल काठमाडौं इनमा पुर्याए । होटलमा आफूले दुईवटा कोठामा बस्न आग्रह गरे पनि सन्दीपले एउटा कोठामात्रै बुक गरेको जुनेलीले आफ्नो जाहेरीमा दाबी गरेकी छन् । यद्यपि, उनीहरुको हाउभाउ हेर्दा ‘असहमति’ को लक्षण नदेखिएको होटल स्रोतको भनाइ छ । जे होस्, उनीहरु होटलको एउटै रुममा सुतेको प्रमाणिक तथ्य हो ।
‘उनीहरु एउटै कोठामा सुतेका हुन् । तर, कसैले कसैलाई जबरजस्ती गरेको देखिँदैन’, होटल स्रोतले भन्यो ।
कोठा बन्द भइसकेपछि रुमभित्र के भयो वा के भएन त्यो उनीहरु दुईजनालाई मात्र थाहा हुने कुरा भयो । तर, कोठाभित्र कुनै खाले द्वन्द्व वा जबरजस्ती भएको संकेत मिल्ने आवाज वा चिच्याहट नसुनिएको कर्मचारी बताउँछन् । भोलिपल्ट बिहान उनीहरु हाँसीखुशी होटलबाट निस्किनु र सन्दीपले नै गाडीमा राखेर जुनेलीलाई होस्टेलमा ड्रप गरिदिनुले पनि सौहार्दपूर्ण रात बितेको आँकलन गर्न सकिन्छ । प्रेस नेपाल





