पहिरोले थुनिएको मर्स्याङ्दी आफै फुट्यो।

 मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको जिल्ला प्रहरी कार्यालय मनाङका  डिएसपी सुवास खड्काले जानकारी दिए।

करिब आधा घण्टापछि नै नदी बग्न थालेको जानकारी दिंदै डिएसपी खड्काले भने, ‘अहिले पनि साना-ठूला पहिरो त गइरहेका छन् । तर नदी थुनिने सम्भावना भने अहिलेसम्म देखिएको छैन ।’

मर्स्याङ्दी नदी ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो । नदी खुलेपछि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।

सडक सम्पर्क विच्छेद

मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएपछि सडक सम्पर्क टुटेको डीएसपी खड्काले बताए । उनले भने, ‘सडक सम्पर्क टुटेकाले अब हवाई बाहेक अरु विकल्प छैन ।’ ग्रामीण सडकहरु पनि पहिरोले भत्किएको उनले बताए ।

‘यस वर्षको मनसुनको सुरुमै अत्यधिक वर्षा हुँदा मनाङमा व्यापक क्षति भएको छ, अहिलेसम्म क्षतिको मूल्यांकन नै गर्न सकिने अवस्था छैन,’ उनले भने ।

प्रहरीका अनुसार माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका कतिपय घरहरु भत्किएका छन् । कतिपय घरहरु उच्च जोखिममा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button