एमाले एकताको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ। सोमबार सिंहदरबारमा बसेको बैठकमा अनौपचारिक छलफल भएपनि आजको बैठकमा विषयगत रूपमा छलफल गरेर मुर्तरुप दिने तयारी भएको कार्यदलका एक सदस्यले बताएका छन्। उनकाअनुसार कार्यदलको बैठक दिउँसो १ बजेपछि बस्दैछ।
सोमबारको बैठकपछि एमालेका सचिव एवम् कार्यदलमा सदस्य गोकर्णराज विष्टले पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान सहमति भएको जानकारी दिएका थिए । बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो। माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलका अनुसार आज पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने बताएका छन्। उनले भने,‘आन्तरिक विषयमा समाधानको प्रयत्न गर्न मंगलबार बैठक पुनः बस्ने तय भएको हो।’
संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले कार्यदलको औपचारिक बैठकले सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देश दिएको बताएका छन्। नेता नेम्बाङका अनुसार बैठक निरन्तर जारी रहने र सकेसम्म मंगलबार, बुधबारभित्रै टुंगोमा पुग्छ।
सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुने संविधान र पार्टीको विधान विपरित भएको ठहर गर्दै एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो। सोमबार साँझसम्म अल्टिमेटम दिएपनि अदालतको फैसला अगाडिसम्म फिर्ता गराउन संस्थापन पक्षको दौडधुप जारी छ। पार्टी अध्यक्ष केपीशर्मा ओलीलाई २०७५ जेठ २ मा फर्काएपछि दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ। योसँगै नेपालसहित ११ जनालाई गरिएको निष्कासनको कारबाही निष्प्रभावी भएको छ।
अध्यक्ष ओली लचिलो बनेपनि वरिष्ठ नेपालले भने ओलीसँग भेट गर्न अस्वीकार गरिरहेका छन्। उपमहासचिव विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन्। पौडेलसहितका संस्थापन पक्षका नेताहरु आइतबार बिहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए। यता आइतबार राति नेपालपक्षका नेता भीम रावललाई बालुवाटार बोलाएर ओलीले हस्ताक्षर फिर्ताका लागि नेपाललाई मनाउन आग्रह गरेको थिए। दुबैपक्षबीच कुराकानी भए पश्चात सोमबारबाट कार्यदल पुन: ब्युँतिएर बैठक बसेको हो।
कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल छन् भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल छन्।
कार्यदल गठनभएपछिको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने, पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा विश्वास, सहयोग र अन्तरविरोध सिर्जना हुने कामकुरबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको थियो। तर बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा माधव नेपाल पक्षले बागी उम्मेदवारलाई मत हालेपछि कार्यदल निष्क्रिय भएको थियो । प्रतिनिधिसभा विघटन भएसँगै देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले हस्ताक्षर गरेपछि एमाले विवाद झन् उत्कर्षमा पुगेको थियो।